चुनावमा पार्टीले लज्जास्पद पराजय बेहोरेपछि पार्टीभित्रैबाट आलोचनाको सिकार बनेका कांग्रेस सभापति शेरबहादुर देउवा अबको केही दिनभित्रमा नै सरकार बाहिर हुनेछन् । त्यसपछि उनको भूमिका पार्टी सभापतिको रुपमा कांग्रेसलाई बलियो बनाउनु हुनेछ । तर केही प्रभावशाली नेताहरुले नै तत्काल नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठाइरहेकाबेला देउवालाई पार्टीभित्र ठूलै चुनौति छ ।
यही कुरालाई मध्यनजर गर्दै देउवा अब राष्ट्रपति बन्ने बाटो खोज्दैछन् । राष्ट्रपति बन्न पाए कांग्रेसको नेतृत्व हस्तान्तरण गर्न सहज हुने उनको ठम्याई छ ।
त्यसैले देउवाले एमाले र माओवादीबिच पार्टी एकता नभएको खण्डमा माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाएर आफूलाई राष्ट्रपतिको रुपमा प्रस्ताव गर्न लागेका छन् । कांग्रेसका एक नेताले नाम उल्लेख नगर्ने शर्तमा देउवा राष्ट्रपति बन्न चाहेको कुरा खुलासा गरेका हुन् । संघीय समाजवादी फोरम र राजपालाई पनि सहमत गराएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने र कांग्रेसको भागमा राष्ट्रपति पद मागेर आफैँ राष्ट्रपति बन्ने दाउमा देउवा रहेको ति कांग्रेस नेताले बताए ।
तर कांग्रेस कै वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि राष्ट्रपति बन्ने चाहना व्यक्त गरेको बताइएको छ । यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने संकेत गरेका छन् । शनिबार गृहजिल्ला चितवनमा आयोजित कार्यक्रममा देशको हितका लागि आफू फड्को मार्न तयार रहेको भन्दै गठबन्धन तोड्ने र आफै प्रधानमन्त्री बन्ने संकेत गरेका हुन्।
यदि यसो भए एमाले अध्यक्ष केपी ओलीको प्रधानमन्त्री बन्ने सम्भावना टर्नेछ। प्रमुख दल भएर एमाले प्रतिपक्षमा बस्नुपर्ने अवस्था आउनेछ। उसो त एमालेले पार्टी एकताभन्दा सरकार गठनलाई प्राथमिकता दिएपछि माओवादी केन्द्र सशंकित देखिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर अझै पनि एकतापछि माओवादीलाई पार्टी नेतृत्व दिने विषयमा कन्भिन्स हुन सकेको छैन । त्यसले अब ओलीको नेतृत्वमा बन्ने भनिएको सरकार नै प्रभावित हुने देखिएको छ ।