काठमाडौं, वैशाख २५ — नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को प्रिमियर काठमाडौंस्थित सिटी सेन्टरको सिनेमा हलमा बुधबार साँझ भव्य रूपमा सम्पन्न भएको छ। प्रिमियरमा राजनीतिक, सांस्कृतिक तथा चलचित्र क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति देखिएको थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङदेनले चलचित्र उत्कृष्ट रहेको भन्दै पछिल्लो समय नेपाली फिल्म क्षेत्र गुणात्मक रूपमा अगाडि बढिरहेको टिप्पणी गरे। त्यस्तै, अभिनेता विपिन कार्कीले फिल्मले दर्शकको मन छुने प्रतिक्रिया पाएको बताए र सबैलाई चलचित्र हेर्न सिनेमाघर पुग्न आग्रह गरे।
नवीन चौहानद्वारा लेखन तथा निर्देशन गरिएको चलचित्रमा विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा छन् भने विल्सनविक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनील पोखरेल, माओत्से गुरुङलगायत कलाकारको अभिनय रहेको छ।
‘ऊनको स्वीटर’ वैशाख २६ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। फिल्मको अग्रिम टिकट बुकिङ सुरु भइसकेको छ। आर्टमाण्डु प्रालिको ब्यानरमा निर्मित यो चलचित्र पूर्वी नेपालको पाँचथर तथा भारतको सीमा क्षेत्र फालेलुङमा छायांकन गरिएको हो।
निर्देशक चौहानका अनुसार, चलचित्रले नेपाली समाजको सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध र जीवन्त कथाहरूलाई एउटै कथामा प्रस्तुत गर्ने प्रयास गरेको छ। सेन्सर बोर्डले चलचित्रलाई युनिभर्सल प्रमाणपत्र दिएको छ, जसले यो सबै उमेर समूहका दर्शकका लागि उपयुक्त बनाएको छ।




















प्रतिक्रिया दिनुहोस्