याक्थुङ लोकसाहित्यको अध्ययनमा नयाँ आयाम, ‘पालाम’ पुस्तक सार्वजनिक

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 8, 2026 08-Oct-2026, Thu
5 Min Read
Aa
palam limbu

काठमाडौं । याक्थुङ–लिम्बू समुदायको मौलिक लोकसाहित्य, मौखिक ज्ञान र सांस्कृतिक परम्पराको अध्ययनलाई थप विस्तार गर्ने उद्देश्यसहित लेखिका बसन्ता सम्बाहाम्फेद्वारा लिखित अनुसन्धानात्मक पुस्तक ‘पालाम : हेन्जिला, मुक्सि नु परिक्हा’ सार्वजनिक गरिएको छ। पुस्तकमा पालामको परिभाषा, संरचना, तत्त्व तथा विभिन्न प्रकारबारे विस्तृत अध्ययन प्रस्तुत गरिएको छ।

लिम्बू पत्रकार संघ, काठमाडौं उपत्यका समितिको आयोजनामा बिहीबार काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा भएको कार्यक्रममा मुन्धुमविद् तथा वरिष्ठ साहित्यकार येहाङ लावतीले पुस्तक विमोचन गरेका हुन्।

विमोचन समारोहमा प्राज्ञ यासेली योङहाङले लिम्बू भाषामा तथा साहित्यकार एवं चलचित्रकर्मी सागर केरुङले नेपाली भाषामा पुस्तकको समीक्षा गरेका थिए। कार्यक्रममा साहित्य, भाषा, कला, पत्रकारिता तथा प्राज्ञिक क्षेत्रका व्यक्तित्वसँगै याक्थुङ–लिम्बू समुदायका प्रतिनिधिहरूको उपस्थिति थियो।

पालामलाई लोकगीतमा मात्र सीमित नराखी सैद्धान्तिक अध्ययन

लेखिका सम्बाहाम्फेले पुस्तकमा पालामलाई प्रेमभाव र मनोरञ्जनसँग जोडिएको लोकगीतका रूपमा मात्र नभई आफ्नै संरचना, लय, छन्द, प्रस्तुति शैली र सांस्कृतिक महत्त्व भएको मौलिक विधाका रूपमा व्याख्या गरेकी छन्।

कृतिमा पालामको स्वरूप, वर्गीकरण, सौन्दर्यशास्त्र र सैद्धान्तिक आधारलाई अनुसन्धानमूलक ढङ्गले विश्लेषण गरिएको छ। त्यस्तै, पालामलाई सामूहिक स्मृति, भू–स्मृति, भावनात्मक चेतना, सामाजिक सम्बन्ध, सौन्दर्यबोध र सांस्कृतिक दर्शनसँग जोडेर अध्ययन गरिएको छ।

याक्थुङ लोकसाहित्यको अध्ययन तथा अध्यापनका लागि उपयोगी सन्दर्भ सामग्री बन्ने विश्वास लेखिकाले व्यक्त गरेकी छन्।

याक्थुङ सौन्दर्यशास्त्र र विश्वदृष्टिकोणसँग पालामको सम्बन्ध

पुस्तकका समीक्षक सागर केरुङले यो कृति लिम्बू भाषा विषयको स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन र अध्यापन गर्नेहरूका लागि महत्त्वपूर्ण हुने बताए। नेपालबाट पहिलोपटक सिक्किम गई लिम्बू भाषामा उच्च शिक्षा हासिल गरेका केरुङले पालामलाई याक्थुङ समुदायको सौन्दर्यशास्त्र र जीवनलाई हेर्ने दृष्टिकोणसँग जोडेर बुझ्नुपर्ने धारणा राखे।

उनका अनुसार पालामले समग्रता, सम्पूर्णता, सामुदायिकता, सह–अस्तित्व र स्वाभिमानजस्ता आधारभूत मान्यतालाई अभिव्यक्त गर्छ। यसले याक्थुङ समाजको सामाजिक सम्बन्ध, सांस्कृतिक चेतना र जीवन–जगत्लाई बुझ्ने मौलिक दृष्टिकोणसमेत उजागर गर्ने उनले बताए।

‘पालामले सामुदायिक, सम्बन्धमुखी, सांस्कृतिक रूपमा सचेत र स्वाभिमानी याक्थुङ समाजको परिकल्पना गर्छ,’ केरुङले भने, ‘यसले सह–अस्तित्व, सामुदायिकता, मानवीय सम्बन्ध तथा जीवन–जगत्को समग्रताको दर्शन प्रस्तुत गर्छ।’

उनले पालाममा मानव, प्रकृति, भू–स्मृति, समुदाय, पूर्वज र संस्कृतिबीचको अन्तरसम्बन्ध प्रतिबिम्बित हुने उल्लेख गरे। पालाम संवाद, प्रेम, सम्बन्ध, प्रकृतिप्रतिको अनुभूति, स्मृति र सामुदायिक सहभागिताबाट जीवन्त रहने उनको भनाइ थियो।

केरुङका अनुसार पालाम मनोरञ्जनको माध्यम मात्र नभई भाषा, संस्कृति, ज्ञान, पहिचान र सामुदायिक स्मृतिको संरक्षण तथा पुस्तान्तरण गर्ने महत्त्वपूर्ण सांस्कृतिक माध्यम पनि हो।

पालाम अनुसन्धानमा लेखिकाको योगदान

याक्थुङ–लिम्बू भाषा, साहित्य र संस्कृतिको अध्ययनमा सक्रिय सम्बाहाम्फेले वि.सं. २०७७ मा पालाम विषयमा स्नातकोत्तर तहको अनुसन्धान गरेकी थिइन्। उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गर्नुका साथै फेसन डिजाइनमा स्नातक अध्ययन गरेकी छन्।

ललितपुरस्थित निर्वाण कलेजकी पूर्वप्राध्यापक उनले ‘थिम्–साक्थिम्’ लगायत विभिन्न जर्नल, पुस्तक तथा पत्रपत्रिकाको सम्पादनमा समेत योगदान पुर्‍याएकी छन्।

यसअघि वि.सं. २०६६ मा कुटुम्बसँग सहकार्य गर्दै उनले ‘निसिम सिगाङ्बा मिक्वाहा’ पालामको अभिलेखीकरण गरेकी थिइन्। ‘नादङ’, ‘तुम्दङ’, ‘फुङ्वामा’, ‘थिबोङ्तुक हिङ्मन’, ‘मिक्वा चुरुरु’ र ‘लुङ्वा तरेबे’ लगायतका पालाम तथा म्युजिक भिडियोमा पनि उनको प्रस्तुति रहेको छ।

त्यस्तै, उनी ‘मोडल हन्ट नेपाल’, ‘फेस अफ मारवाडी’ र ‘आईईसी डिजाइनर्स रनवे’ मा सहभागी भएकी छन्। सम्बाहाम्फे किरात याक्थुङ चुम्लुङ–लिम्बू सांस्कृतिक परिषद्की संघीय सदस्यसमेत हुन्।

मौखिक ज्ञान र सांस्कृतिक परम्पराको दस्तावेजीकरणमा जोड

कार्यक्रममा सम्बाहाम्फे उत्थान संघका उपाध्यक्ष धिरेन्द्र सम्बाहाम्फे, याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालका कुलपति राजेन्द्र कुमार जबेगु ‘हाङ्वासाङ’, संघीय सांसद सचिवालयकी सहसचिव बबिता मिश्र, लोकवार्ताविद् तथा समालोचक प्रा. डा. कुलराज निरौला, नेपाल आदिवासी जनजाति महासंघका संघीय महासचिव बिमल सारु मगर र किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष गोविन्द आङबुङलगायतले पुस्तकको महत्त्वबारे धारणा राख्दै शुभकामना व्यक्त गरेका थिए।

प्रमुख अतिथि येहाङ लावतीले याक्थुङ–लिम्बू समुदायको मौखिक ज्ञान, संस्कृति र परम्परालाई अनुसन्धान तथा दस्तावेजीकरणमार्फत संरक्षण गर्नु आवश्यक रहेको बताए।

कार्यक्रममा पुस्तक प्रकाशक प्रितिका सम्बाहाम्फे र प्रितम बेघालाई धन्यवादपत्र प्रदान गरिएको थियो। पुस्तकको डिजाइन गरेका विवस हेल्लोक लिम्बूलाई पनि सम्मानसहित धन्यवादपत्र प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष अर्जुन मादेनले जानकारी दिए। उनका अनुसार हेल्लोकले हालसम्म सयौँ लिम्बू भाषाका कृतिको डिजाइन गरिसकेका छन्।

याक्थुङ–लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेको पालामको सैद्धान्तिक तथा अनुसन्धानमूलक अध्ययनलाई अगाडि बढाउने प्रयासका रूपमा यस कृतिलाई महत्त्वपूर्ण मानिएको छ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja