सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका मुख्य निर्णयबारे जानकारी दिएका हुन्।
बैठकले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
त्यस्तै, कमला–ढल्केश्वर–पथलैया सडकखण्ड, गर्जनखोला तथा बलेफीखोला जलविद्युत् आयोजना र सशस्त्र प्रहरी बलका तालिम शिक्षालय तथा सीमा सुरक्षा पोस्ट निर्माणका लागि आवश्यक राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न अनुमति दिने निर्णय पनि भएको छ।
मन्त्रिपरिषद्ले पशु, बधशाला तथा मासु जाँच ऐन–२०५५, संघीय निजामती सेवासम्बन्धी कानुन र अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन–२०७४ संशोधनका लागि तयार भएका विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ।
बैठकले प्रशासन तथा इन्जिनियरिङ सेवातर्फका दुई उच्चपदस्थ कर्मचारीको बढुवा तथा पदस्थापनसम्बन्धी निर्णयसमेत गरेको छ। सहसचिव आवास श्रेष्ठ कर्णलाई बढुवा गरी गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा र डा. जगदीश्वर कर्मचार्यलाई बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरिएको छ।
मन्त्रिपरिषद्का निर्णयसँगै सरकारले स्वास्थ्य, पूर्वाधार, प्रशासन तथा कानुनी सुधारका विषयमा अघि बढाइएका कदमबारे जानकारी दिएको हो।
प्रतिक्रिया दिनुहोस्