किरात याक्थुङ चुम्लुङ अन्तर्गत लिम्बू सांस्कृतिक परिषद्ले तयार गरेको प्राज्ञिक जर्नल–स्मारिका ‘थिम्–साक्थिम्’ आगामी असोज १६ गते सार्वजनिक हुने भएको छ।
ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने कार्यक्रममा जर्नल–स्मारिका विमोचन गरिने परिषद्ले जनाएको छ। कार्यक्रममा किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष तथा परिषद्का संस्थापक अध्यक्ष गोविन्द आङबुङको प्रमुख आतिथ्यता रहनेछ।
करिब ३५० पृष्ठको प्रकाशनमा याक्थुङ–लिम्बू समुदायको भाषा, साहित्य, संस्कृति, मुन्धुम, इतिहास, कला, शिक्षा, चलचित्र तथा सामाजिक विषयसँग सम्बन्धित अनुसन्धानात्मक र वैचारिक सामग्री समेटिएको छ।
वि.सं. २०६१ मा स्थापना भएको लिम्बू सांस्कृतिक परिषद्को लामो संस्थागत यात्राका अनुभव, ज्ञान, अनुसन्धान र सांस्कृतिक गतिविधिलाई अभिलेखका रूपमा सुरक्षित गर्दै भावी पुस्तासम्म पुर्याउने उद्देश्यले ‘थिम्–साक्थिम्’ प्रकाशन गरिएको परिषद्ले जनाएको छ।
जर्नलमा विभिन्न विद्वान्, अनुसन्धानकर्ता, साहित्यकार तथा स्रष्टाका लेख–रचना समावेश छन्। प्रकाशनको सम्पादन सागर केरुङ, बसन्ता सम्बाहाङफे, कञ्चन थलङ, डिआर हाङसरुम्बा र कृष्णराज थलङले गरेका छन्।
परिषद्का संघीय अध्यक्ष सागर केरुङले प्रकाशनलाई संस्थाको विगतलाई दस्तावेजीकरण गर्दै वर्तमानलाई बुझ्ने र आगामी पुस्ताका लागि सांस्कृतिक तथा बौद्धिक आधार तयार गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन्।
विमोचन समारोहमा पुस्तक सार्वजनिक गर्नुका साथै केला:ङ, पालाम, यालाङ, गायन र नृत्यलगायतका याक्थुङ सांस्कृतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ।
कार्यक्रममा काठमाडौं, ललितपुर र भक्तपुरका लिम्बू सांस्कृतिक परिषद् सह–आयोजकका रूपमा सहभागी हुनेछन्। आयोजकले याक्थुङ–लिम्बू समुदायका अग्रज, अभियन्ता, स्रष्टा, अनुसन्धानकर्ता, विद्यार्थी तथा शुभेच्छुकलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्