अनलाइन टीभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको पहिलो प्रदेश भेलाले कृष्णराज अधिकारीलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ। नेपालगन्जमा सम्पन्न भेलाले अधिकारीको नेतृत्वमा ११ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको हो।
संघद्वारा सार्वजनिक गरिएको जानकारी अनुसार, वरिष्ठ उपाध्यक्षमा दीपक न्यौपाने, उपाध्यक्षमा रञ्जित शाह, सचिवमा सावित्री गिरी, सहसचिवमा मनबहादुर सहकारी, र कोषाध्यक्षमा भावना बुढा मल्ल निर्वाचित भएका छन्। सदस्यहरूमा चन्द्रेश्वर त्रिपाठी, इरफान अली, कुशल विक र श्वेता गिरी चयन भएका छन्। बाँकी एक सदस्यलाई भने कार्यसमितिको बैठकबाट मनोनयन गरिने बताइएको छ।
भेलाअघि “डिजिटल पत्रकारिता र एआई प्रविधिको प्रयोग” विषयक अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रम संघका केन्द्रीय प्रतिनिधि रोहित लिम्बूको अध्यक्षतामा सम्पन्न भएको हो।
उद्घाटन सत्रका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले डिजिटल युगमा पत्रकारको भूमिका अझै सशक्त बनाउनु पर्ने बताए। उनले डिजिटल मिडियामा कार्यरत पत्रकारहरूको क्षमता विकासमा स्थानीय सरकार तयार रहेको पनि उल्लेख गरे।
कार्यक्रममा विशिष्ट अतिथि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले एआई प्रविधिको उपयोग सकारात्मक भए तापनि पत्रकारले सृजनशीलता कायम राख्नुपर्नेमा जोड दिए। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले संघको प्रयास सराहनीय रहेको भन्दै डिजिटल पत्रकारका लागि तालिमलाई प्राथमिकतामा राखिने जानकारी गराए।
केन्द्रीय अध्यक्ष जीवन भण्डारीले देशभर अनलाइन टीभीमा संलग्न पत्रकारलाई आचारसंहिता र डिजिटल सामग्रीको गुणस्तरमा ध्यान दिन प्रेरित गर्न संघ अभियानमा रहेको उल्लेख गरे।
कार्यक्रममा बाँके, बर्दिया, रुपन्देही, पाल्पा, दाङ, कर्णाली र सुदूरपश्चिम प्रदेशका अनलाइन टीभी पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


















प्रतिक्रिया दिनुहोस्