पर्वतमा मत माग्दै उम्मेदवारहरु घरदैलोमा, गठबन्धनको कोण सभा पकुवामा सम्पन्न

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 3, 2022 03-May-2022, Tue
3 Min Read
Aa

पर्वत ।बैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता भेटघाट तथा चुनावी कोणसभा कार्यक्रमहरुले तिव्रता पाएका छन् । चुनावी तालमेल गरि प्रतिस्पर्धामा रहेको संयुक्त गठबन्धनले कुश्मा नगरपालिका ११ पकुवाका विभिन्न बस्तीमा घरदैलो तथा बस्तीमा पुगेर स्थानीय संग भेट गरिएको हो ।

मेयरका उम्मेदवार रामचन्द्र जोशी, उपमेयरका उम्मेदवार शंकर गिरी, गठबन्धनको तर्फबाट वडाध्यक्षका उम्मेदवार लीला दवाडी पौडेल सहित नेपाली काँग्रेस, नेकपा माओबादी, नेकपा समाजबादी लगायतका दलका नेताहरु सहित घरदैलो गरिएको हो । तीन स्थानमा छोटो कोणसभा समेत गरिएको छ । गठबन्धनका उम्मेदवारहरुले कुश्मा नगरपालिका ११ का बासिन्दाहरुलाई सहज सडक, खानेपानीको सुविधा, विद्यालयहरुको सुधार, बाढि तथा पहिरो पीडितको उचित व्यवस्थापन गर्ने लगायत जनजिविकाका विभिन्न विषय सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले कोणसभा लाई सम्बोधन गर्दै गठबन्धनमा आवद्ध भएका दल सबै साझा उम्मेदवार रहेकाले उहाँहरुलाई जिताएर पठाउन स्थानीय मतदाताहरुलाई आग्रह गर्नुभयो । कुश्मा नगरपालिकामा वहुमतको दम्भ देखाएर एमालेले विगतमा ८ महिनासम्म नगरपालिका बन्धन बनाएको र अरु बेला पनि कतिपय जनपक्षिय निर्णयहरु रोकेर काम गर्न नदिएको तितो यथार्थ रहेकाले त्यस्तो अवस्था आउन नदिन मेयरका उम्मेदवार रामचन्द्र जोशी र उपमेयरका उम्मेदवार शंकर गिरीलाई सहज रुपमा जनपक्षिय काम गर्न दिन वहुमत आउने गरि मतदान गर्न जोशीले आव्हान गर्नुभएको थियो । नेकपा एमालेका उम्मेदवार कोहि अख्तियारको छानविनमा रहेका, कोहि किर्तेमा संलग्न रहेका भन्दै जोशीले आफ्ना उम्मेदवारहरुमा कुनै दोष र खोट नरहेको दाबी गर्नुभयो । संघीय साँसद लालकाजी गुरुङले गठबन्धनको मर्म र भावनाको कदर गर्दै पकुवावासीहरुले आफ्ना साझा उम्मेदवारलाई प्रतिबद्ध भएर मतदान गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति यूवराज जोशी, प्रदेश सदस्य सीता काफ्ले लामिछाने, टंकप्रसाद सुबेदी, क्षेत्रीय सभापति राजकुमार क्षेत्री, नगर सभापति किशोर भण्डारी, नेता रामशर्मा पौडेल, माओबादी केन्द्रका नेताहरु मनरुपा शर्मा, तारा पराजुली, मीनराज केसी लगायत समेत सहभागी हुनुभएको थियो । नगरप्रमुखका उम्मेदवार रामचन्द्र जोशीले पकुवा संग आफ्नो निकटको सम्बन्ध रहेको चर्चा गर्दै विगतमा पनि आफुले निष्पक्ष रुपमा काम गरेको र आगामी दिनमा पनि सबैको काम निष्पक्ष ढंगले गर्नका लागि मतदान गर्न आव्हान गर्नुभयो ।

उपप्रमुखका उम्मेदवार शंकर गिरीले गठबन्धनले देश विकास र कुश्मा नगरपालिकाको विकासमा नयाँ शिराबाट काम गर्ने सोचका साथ चुनावी मैदानमा रहेको बताउनुभयो । नमूना नगर बनाउने अभियान बोकेर गठबन्धन आएको बताउँदै गिरीले गठबन्धनका उम्मेदवार लाई जिताएर कुश्माको मुहार फेर्ने उदेश्य पुरा गर्न मतदातालाई अनुरोध गर्नुभयो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja