भारतीय विदेश सचिव विक्रम मिश्रीको प्रस्तावित नेपाल भ्रमण अन्तिम समयमा स्थगित भएपछि नेपाल–भारत सम्बन्ध फेरि चर्चामा आएको छ। दुई देशबीच कूटनीतिक संवादमा केही असहजता देखिएको विश्लेषण भइरहेका बेला यही जेठ मध्यमा हुने परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणलाई विशेष अर्थका साथ हेरिएको छ।
मिश्री वैशाख २८ गते काठमाडौं आउने तयारीमा थिए। भ्रमणका लागि प्रारम्भिक तयारीसमेत अघि बढिसकेको भए पनि अन्तिम समयमा कार्यक्रम रोकिएपछि विभिन्न राजनीतिक तथा कूटनीतिक वृत्तमा चासो बढेको हो। परराष्ट्र मन्त्रालयले भने भ्रमणको मिति औपचारिक रूपमा तय नभएको प्रतिक्रिया दिएको छ।
उच्च स्रोतहरूका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले उच्चस्तरीय भेटवार्तामा रुचि नदेखाएपछि भ्रमण प्रभावित भएको चर्चा छ। यद्यपि यसबारे सरकारका तर्फबाट कुनै औपचारिक पुष्टि भएको छैन।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जिओ गोरसँग पनि प्रधानमन्त्री शाहले भेट नगरेको विषयले अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा बहस सिर्जना गरेको थियो। पछिल्ला घटनाक्रमले नेपालले आफ्नो कूटनीतिक प्राथमिकता र शैलीमा नयाँ संकेत दिन खोजेको टिप्पणीसमेत हुन थालेको छ।
यता, परराष्ट्रमन्त्री खनालको भारत भ्रमणलाई भने सम्बन्ध सुधार र विश्वास पुनःस्थापनाको अवसरका रूपमा हेरिएको छ। भ्रमणका क्रममा उनले भारतीय समकक्षीसँग द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, ऊर्जा, व्यापार तथा क्षेत्रीय चासोका विषयमा छलफल गर्ने तयारी रहेको स्रोतको दाबी छ।
विश्लेषकहरूका अनुसार नेपाल–भारत सम्बन्धमा समय–समयमा उतारचढाव देखिए पनि दुवै देशको भूराजनीतिक, आर्थिक र सामाजिक सम्बन्ध गहिरो भएकाले संवादको ढोका बन्द हुने अवस्था छैन। त्यसैले आगामी भ्रमणले सम्बन्धलाई सहज बनाउने अपेक्षा गरिएको छ।


















प्रतिक्रिया दिनुहोस्