गए राति देखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका – २५ हेम्जाको सुइँखेतमा रहेको एक बस्ती नै डुबानमा परेको वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले जानकारी दिए ।
बिहानैबाट डुबान प्रभावित क्षेत्रबाट बासिन्दालाई आफन्तकोमा पठाउने काम भएको र केही स्थानीय मन्दिरमा बसिरहेको उनले बताए । उनका अनुसार अहिले डुबान क्षेत्रमा पानीको सतह घटेकोले आवतजावतमा केही सहज हुन् थालेको छ ।नहरबाट आएको पानीले निकास नपाउँदा उक्त क्षेत्र वर्षेनी डुबानमा पर्ने गरेकोले यसको स्थायी समाधानका लागि पहल भइरहेको वडाध्यक्ष तिमिल्सिनाको भनाइ छ ।
अविरल वर्षाका कारण पोखरा २५ का विभिन्न ठाउँमा पहिरो जाँदा एक दर्जन घर र पशु फार्ममा क्षति पुगेको र पहिरोका कारण मानवीय क्षति हुन नपाएको तर स्थानीयले सञ्चालन गरेका पशु फार्मका दुई दर्जन बढी चौपायाहरू पुरिएको खबर प्राप्त भएको उनले बताए ।
वडाध्यक्ष तिमिल्सिनाका अनुसार हाल प्रभावितलाई स्थानान्तरण गर्ने र क्षतिको यकिन विवरण लिने काम भइरहेको छ ।
यस्तै, पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलास्थित खाेलाखेतमा रहेको एक घर पहिरोले बगाएको छ । मानवीय क्षति भने भएकाे छैन । अन्य क्षेत्रका पनि सडक बगाएकाे छ । यातायात अबरुद्द भएकाे प्रहरीले जनाएकाे छ ।


















प्रतिक्रिया दिनुहोस्