सिरहाको मिर्चैया नगरपालिका–६ को एउटा स्कुलमा छात्रा बिरामी हुँदा पानीको साटो झुक्किएर शिक्षिकाले स्पिरिट दिएपछि बिरामी रहेकी छात्राको उपचारको क्रममा मृत्यु भएको छ । मृत्युपछि त्यहाँका स्थानीय र विद्यार्थीले आन्दोलन गर्दा मिर्चैया बजारको स्थिति तनावग्रस्त छ ।
शुक्रबार १५ वर्षीया सिर्जनाकुमारी महतोले आफ्नी शिक्षिका अम्बिका लम्साललाई पेट दुख्ने औषधि खानुपर्ने भएकाले पानी खुवाउन भनिन् । तर, स्रोतका अनुसार लम्सालले पानी सम्झेर स्पिरिटको बोतल दिइन् ।
बालिकाले पिएपछि बेहोस भई विद्यालयले उनलाई फुलकुमारी महतो मेमोरियल अस्पताल पुर्यायो । उनको उपचारको क्रममा शनिबार मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसैबीच मृतकका आफन्तले शिक्षकको लापरवाही भएको भन्दै उनलाई कारबाही गर्नुपर्ने भन्दै आइतबार विरोध प्रदर्शन गरेका छन् । उनीहरुले केही समय पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्नुका साथै स्थानीय प्रहरी चौकीमा ढुंगामुढा गरेका थिए ।


















प्रतिक्रिया दिनुहोस्