गृह मन्त्रालयले हत्यामा संलग्न नेकपा एमालेकी सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पटक–पटक मौखिक निर्देशनका बाबजुद पनि प्रहरीले फरार सांसदलाई पक्राउ गर्न नसकेको गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।
कोइरीलाई तत्काल पक्राउ गरी कानुन बमोजिम आवश्यक कारबाही गर्न गृह मन्त्रालयले नेपाल प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको गृह मन्त्रालयका प्रवक्ता फनिन्द्रमणि पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीको खोजी सूचीमा परे पनि कोइरीले माघ १० गते संसद बैठकमा उपस्थित भएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको प्रस्तावको पक्षमा मतदान गरेका थिए । नवनियुक्त सांसदहरुको सपथ ग्रहण समारोहमा पनि उनी सहभागी भएका थिए ।
महोत्तरी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कोइरीमाथि मधेस आन्दोलनका क्रममा प्रहरी सहायक निरीक्षक थमन विश्वकर्माको हत्या गरेको आरोप लागेको छ ।
कोइरीमाथि २०१५ सेप्टेम्बर ११ मा प्रहरी जवानलाई प्रहरी भ्यानबाट घिसारेर हत्या गरेको अभियोगमा धनुषा जिल्ला अदालतले कोइरीलाई एक लाख धरौटीमा रिहा गरेको थियो । तर जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालत जनकपुरले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
बिहीबारको संसद बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले नियम र कार्यविधिविपरीत मन्त्रालयले कुनै काम नगर्ने दाबी गरे ।


















प्रतिक्रिया दिनुहोस्