प्रदेश १ काे नामकरणका लागि प्रदेशसभा बैठक सुरू भएकाे छ । नामकरणका लागि सत्तारूढ दल एमालेले काेशी प्रदेश र विपक्षी दल नेकपा (एकीकृत समाजवादी) र सत्तारूढ दल जनता समाजवादी पार्टीले किरात-लिम्बुवान-सगरमाथा प्रदेशका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् ।
६ वटा प्रदेशले अघिल्लो कार्यालयमै नामकरण गरेपनि प्रदेश १ ले नाम राख्न नसकेकोमा आलोचना खेप्दै आएको छ । प्रदेशसभाकाे नामकरणका लागि प्रदेशसभामा कायम रहेका दुई तिहाई सांसदकाे समर्थन हुनुपर्ने संबैधानिक व्यवस्था छ ।
प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।
प्रदेश १ प्रदेशसभा बैठकमा कोशी नाममाथि छलफल सुरु भएको छ । एमाले सांसद रामबहादुर राना मगरले कोशी प्रदेश नाम राख्न प्रस्ताव गरेका थिए । उनको प्रस्तावमाथि प्रदेशसभा बैठकमा छलफल सुरु भएको हो ।
प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले किरात लिम्बुवान सगरमाथा प्रदेश नाम राख्न प्रस्ताव पेश गरेका थिए । प्रदेशसभाले मगरले पेश गरेको प्रस्तावलाई छलफलका लागि स्वीकार गर्यो भने राईले पेश गरेको किरात लिम्बुवान सगरमाथाको प्रस्तावलाई अस्वीकार गर्यो ।
प्रदेशसभाको बहुमतले कोशी प्रदेशलाई छलफलका लागि स्वीकार गरेपछि सभामुख बाबुराम गौतमले किरात लिम्बुवान सगरमाथाको प्रस्ताव संभवत: अस्वीकृत भएको बताएका थिए ।
प्रदेशसभामा एमालेले पेश गरेको कोशी प्रदेशमाथि छलफल सुरु भएको छ । छलफल पछि बुधबार नै मत विभाजन हुनेछ ।


















प्रतिक्रिया दिनुहोस्