बाँकेको नेपालगन्ज महानगरपालिकाबाट प्रहरीले कुख्यात गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनका अंगरक्षक रहेका एक जनालाई बिना अनुमति एके ४७ सहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सन्तोषसिंह राठौरका अनुसार जिल्लाकै बैजनाथ गाउँपालिका नौबस्ताका गणेशबहादुर बोगटीलाई आज पक्राउ गरिएको हो ।
यसअघि उनले गुरुङलाई अनाधिकृत हात हतियार बोकेर हिँडेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको युवा संघको महाधिवेशनमा सहभागी हुन गुरुङ अहिले नेपालगन्जमा छन् ।
चक्रे मिलन सन् २००० को दशकको अन्त्यतिर दीपक मनाङ्गे, गणेश लामा र राजु गोर्खालीसँगै काठमाडौं उपत्यकाका सबैभन्दा कुख्यात गुण्डाहरूमध्ये एक थिए ।
स्रोतका अनुसार प्रहरी कारबाहीको डरले उनीहरु सबै पछि विभिन्न राजनीतिक दलमा प्रवेश गरे । मनाङे यसअघि दुई पटक प्रदेश सांसद र मन्त्री भइसकेका छन् ।


















प्रतिक्रिया दिनुहोस्