काठमाडौँ, वैशाख १४ — राजधानी काठमाडौँमा जारी शिक्षक आन्दोलनको फिल्ड रिपोर्टिङका क्रममा प्राइम टाइम टेलिभिजनकी पत्रकार सविना कार्कीमाथि आक्रमण भएको छ। कार्कीमाथि भएको क्रूर आक्रमणप्रति अनलाइन टिभी पत्रकार संघ नेपालले गम्भीर खेद व्यक्त गरेको छ।
संघले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनस्थलमा आफ्नो पेशागत कर्तव्य निर्वाह गरिरहेकी पत्रकार कार्कीमाथि भएको आक्रमणलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भन्दै निन्दा गरेको छ।
घटनामा पत्रकार कार्कीको दुबै आँखामा गम्भीर चोट लागेको र स्वास्थ्यमा गम्भीर असर परेको संघले जनाएको छ। संघले सरकारसँग घटनाको गम्भीर छानबिन गरी दोषीलाई कडा भन्दा कडा कानुनी कारबाही गर्न माग गरेको छ।
साथै, संघले आन्दोलनरत शिक्षकहरूमाथि भइरहेको दमन तत्काल रोक्न आग्रह गर्दै प्रेस स्वतन्त्रता र पत्रकारहरूको सुरक्षाको सुनिश्चितता गर्न सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ।
संघले घाइते पत्रकार कार्कीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अन्य पत्रकारहरूलाई समाचार सङ्कलनका क्रममा ‘सुरक्षा पहिलो’ नीतिलाई आत्मसात गर्न सतर्कता अपनाउन आह्वान गरेको छ।

















प्रतिक्रिया दिनुहोस्