पत्रकारिताको क्षेत्र असुरक्षित बन्दै गएको अध्यक्ष शर्माको चिन्ता

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 3, 2025 03-May-2025, Sat
1 Min Read
Aa
press freedom

काठमाडौं, वैशाख २0 – नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पछिल्लो समय पत्रकारिताको क्षेत्र दिनप्रतिदिन असुरक्षित बन्दै गएको गम्भीर चिन्ता व्यक्त गरेकी छन्। शनिबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा आयोजित प्रभातफेरी कार्यक्रममा उनले पत्रकारको पेशागत सुरक्षाका सवालमा सरकार गम्भीर नबहेको आरोप लगाइन्।

उनले भनिन्, “पेशागत असुरक्षाका कारण पत्रकारले भोग्नुपरेका समस्याहरू यस वर्ष झनै गहिरो भएका छन्। विशेषगरी अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारका लागि अवस्था झन् चुनौतीपूर्ण देखिएको छ।”

शर्माले पत्रकारमाथि हुने दुरव्यवहार र सञ्चारमाध्यममाथि भएका आक्रमणबारे पनि प्रकाश पार्दै, यस्ता घटनामा संलग्न व्यक्तिहरू दण्डहीनताको अवस्थामा रहनु दुःखद भएको बताइन्। उनले दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई तत्काल कदम चाल्न आग्रह गरिन्।

अध्यक्ष शर्माले प्रविधिको तीव्र विकासले पत्रकारिता क्षेत्रमा पारेको प्रभावबारे महासंघले थप छलफल गर्ने तयारी गरिरहेको जानकारी दिइन्। उनले प्राविधिक परिवर्तनसँगै पत्रकारहरू थप असुरक्षित बन्न सक्ने सम्भावनाबारे गम्भीर बहस आवश्यक रहेको औंल्याइन्।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja