संघीय गणतन्त्र समाप्त पार्ने खेल भइरहेछ : उपेन्द्र यादव

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 11, 2025 11-May-2025, Sun
1 Min Read
Aa
upendra yadap

जनकपुरधाम— जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा लोकतन्त्र विरोधी शक्तिहरूले संघीय गणतन्त्रलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।

शनिबार जनकपुरधाममा आयोजित समाजवादी महिला संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन २०८२ को उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सडकदेखि सदनसम्म संघीयता र लोकतान्त्रिक गणतन्त्रविरुद्ध सञ्‍चालित षड्यन्त्रप्रति गम्भीर चिन्ता व्यक्त गरे।

“२५० वर्षको निरङ्कुश शासनमा महिलाले कुनै अधिकार पाएनन्,” यादवले भने, “संघीयता र मधेश आन्दोलनकै कारण महिलाले आज अधिकार र पहिचान पाएका छन्।” अहिले महिलाको सहभागिता ३३ प्रतिशत रहेको भन्दै उनले राज्यको सबै अंगमा ५० प्रतिशत सहभागिता सुनिश्चित गर्नुपर्ने मागसमेत राखे।

उनले सरकारमाथि पनि तीव्र आलोचना गर्दै भने, “देश प्रधानमन्त्रीले होइन, दलाल र बिचौलियाहरूले चलाइरहेका छन्। नियुक्तिदेखि बजेट निर्माणसम्म कमिसन खोरको कब्जा छ।”

यादवले देशमा २६ खर्बभन्दा बढी वैदेशिक ऋण भए पनि त्यसको प्रभाव नदेखिएको भन्दै भ्रष्टाचारलाई मुख्य कारण बताए। “विश्व बैंकले खर्बौं अनुदान दिएको छ, तर विकास हुन सकेको छैन,” उनले भने।

संविधान संशोधनको नाममा सरकार जनतालाई धोका दिइरहेको आरोप लगाउँदै यादवले देश अहिले गम्भीर राजनीतिक संकट र आर्थिक जर्जरता भोगिरहेको टिप्पणी गरे।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja