बर्षामा पनि नरोकिने गरी बिपी राजमार्गको मर्मत कार्य तीव्र बनाइदै

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 14, 2025 14-May-2025, Wed
1 Min Read
Aa
bipi road

रामेछाप, वैशाख ३१ – असोज ११ र १२ गतेको बाढीले क्षतविक्षत बनाएको बिपी राजमार्गको रोशी खोला क्षेत्रको सडकमा बर्षाको समयमा पनि यातायात नरोकिने गरी मर्मत कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार, बाढीले बगाएको सडक खण्डलाई अस्थायी रूपमा खोलाबाट सडक उठाएर पहिलेकै उचाइमा जोड्ने काम अन्तिम चरणमा पुगेको छ। “दशैँको बेला डाइभर्सन बनाएर गाडी चलाइएका थियौं, अब त्यसलाई स्थायीतर्फ उन्मुख बनाउँदैछौं,” उनले बताए।

गत आइतबार रातिको वर्षापछि आएको बाढीले रोशी गाउँपालिका–२ माम्तिमा रहेको अस्थायी डाइभर्सन बगाउँदा सडक सोमबार आधा दिनसम्म अवरुद्ध भएको थियो। तर, सम्बन्धित निकायको सक्रियतामा सडक पुनः सञ्चालनमा ल्याइएको हो।

स्थायी समाधानका लागि डबल लेन सडक निर्माण गर्न टेन्डर प्रक्रिया सम्पन्न भइसकेको र वर्षा सकिनासाथ निर्माण कार्य प्रारम्भ गरिने प्रमुख योगेशले जानकारी दिए।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार, बाढीले गाउँपालिका भित्रको १० किलोमिटरभन्दा बढी सडक क्षतिग्रस्त बनाएको छ। “यातायात सुचारु राख्न सडक डिभिजनले प्रभावकारी पहल गरिरहेको छ, गाउँपालिकाले पूर्ण सहयोग गर्नेछ,” उनले बताए।

बिपी राजमार्ग काठमाडौंबाट पूर्वतर्फ जाने सबैभन्दा छोटो र व्यस्त सडक हो। वर्षायाममा सडक अवरुद्ध हुँदा यात्रुहरू ठूलो सास्ती खेप्न बाध्य हुने भएकाले यस क्षेत्रको स्थायी समाधानमा सरकार र सरोकारवालाको ध्यान केन्द्रित भइरहेको यात्रुहरूको भनाइ छ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja