राजधानीमा चैत १५ गते आयोजित राजावादी आन्दोलनको समाचार संकलनका क्रममा पत्रकार प्रकाशचन्द्र दाहालमाथि लगाइएको आपराधिक अभियोगप्रति अनलाइन टिभी पत्रकार संघ, नेपालले गम्भीर आपत्ति र विरोध जनाएको छ।
दाहाल नेपाल पुकार युट्युब च्यानलका सञ्चालक तथा स्वतन्त्र पत्रकार हुन्। उनले आन्दोलन स्थलबाट प्रत्यक्ष प्रसारण (लाइभ) गरी जनतालाई घटनाको प्रत्यक्ष जानकारी दिने प्रयास गरेका थिए। तर, उनलाई राज्यविरुद्धको कसूर, आपराधिक उपद्रव, र ज्यान मार्ने उद्योगजस्ता गम्भीर अभियोग लगाइएको छ।
संघले जारी गरेको वक्तव्यमा भनिएको छ, “पत्रकारिताको धर्मअनुसार गरिएको कामलाई अपराध ठहर गर्नु प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन हो। यो घटना पत्रकारमाथि दमनको स्पष्ट संकेत हो।”
संघले सरकारले प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्नुपर्ने र दाहालमाथि लगाइएका सबै आरोप तुरुन्त फिर्ता लिनुपर्ने माग राखेको छ। साथै, पत्रकारहरूलाई भय र दमनमा राख्ने कार्य तत्काल बन्द गर्न आग्रह गरिएको छ।
संघले लोकतान्त्रिक मूल्य र अभिव्यक्तिको स्वतन्त्रता सुरक्षित रहनुपर्ने भन्दै सबै सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ।


















प्रतिक्रिया दिनुहोस्