बरिष्ठ अधिवक्ता सम्भु थापाद्वारा नेपाल प्रेसमा कार्यरत पत्रकार उमेश कार्कीमाथि गरिएको दुर्व्यवहारप्रति अनलाइन टिभी पत्रकार संघ नेपालले घोर आपत्ति जनाएको छ।
संघद्वारा आज सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एस) अध्यक्ष माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दर्ता गरेपछि सो पार्टी कार्यालयमा भएको छलफलपछि निस्कने क्रममा पत्रकारले राखेको सामान्य प्रश्नको उत्तर दिनुको सट्टा अधिवक्ता थापाले क्यामेरामै आक्रमण गर्नु “अत्यन्त आपत्तिजनक” व्यवहार भएको उल्लेख गरिएको छ।
“कसैलाई पनि पत्रकारको प्रश्नको उत्तर नदिने अधिकार हुन्छ,” विज्ञप्तिमा भनिएको छ, “तर सञ्चारकर्मी तथा सञ्चार उपकरणमाथि शारीरिक आक्रमण गर्न पाइँदैन।”
संघले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको भूमिकाबारे राम्रो ज्ञान भएको व्यक्ति—जसले बरिष्ठ अधिवक्ताको रुपमा काम गरिरहेका छन्—बाटै यस्तो व्यवहार हुनु झनै दुर्भाग्यपूर्ण भएको बताएको छ।
पत्रकारमाथिको आक्रमणले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको भन्दै संघले अधिवक्ता थापालाई तत्काल सार्वजनिक रूपमा क्षमायाचना गर्न माग गरेको छ।
विज्ञप्तिमा थप भनिएको छ, “सत्य सूचना नागरिकसम्म पु¥याउन खटिएका सञ्चारकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने अधिकार सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी हो।” साथै, संघले सरोकारवालाहरुलाई पत्रकारको कार्यमा कुनै पनि अवरोध नगर्न पनि आग्रह गरेको छ।


















प्रतिक्रिया दिनुहोस्