अनलाइन पत्रकारितालाई कानुनी मान्यता दिलाउन जीवन भण्डारीको दृढ आवाज

Gopi Krishna Limbu
Gopi Krishna Limbu June 13, 2025 13-Jun-2025, Fri
2 Min Read
Aa
jeevan bhandari

सामाजिक सञ्जालमा सक्रिय पत्रकारिता अभ्यासलाई कानुनी र नीतिगत दायरामा ल्याउन निरन्तर आवाज उठाउँदै आएका अनलाइन टिभी पत्रकार संघ, नेपालका अध्यक्ष जीवन भण्डारीले युट्युब र फेसबुकमार्फत सञ्चालित पत्रकारितालाई औपचारिक मान्यता दिनुपर्ने माग पुनः दोहोर्याएका छन्।

भण्डारीले विगत छ वर्षदेखि युट्युब र फेसबुकमा पत्रकारिता भइरहेको यथार्थलाई स्वीकार गरी ‘अनलाइन टिभी’ का रूपमा परिभाषित गर्नुपर्ने, र त्यसअनुसार कानुनी संरचना तयार गर्नुपर्नेमाथि जोड दिँदै आएका छन्।

उनको नेतृत्वमा निरन्तर पैरवी हुँदै आएको भए पनि सम्बन्धित निकायहरूले समयमै सुनुवाइ नगर्दा आज वरिष्ठदेखि नवप्रवेशी पत्रकारहरू समेत साइबर कानुनको फन्दामा पर्न थालेको उनी बताउँछन्।

“मैले छ वर्षअघि देखेको खतरा आज धेरै पत्रकारले भोगिरहेका छन्,” भण्डारीको भनाइ छ, “कानुनको व्याख्या शब्दमा होइन, मर्ममा हुनुपर्छ।”

वरिष्ठ पत्रकारहरूमाथिको व्यवहारप्रति आपत्ति

भण्डारीले वरिष्ठ पत्रकार दिलभूषण पाठक र नारायण अर्यालमाथि प्रहरीले देखाएको रवैयाप्रति गम्भीर आपत्ति जनाएका छन्। “यस्ता घटनाले पत्रकारिताको स्वतन्त्रता र गरिमामा आँच पुर्‍याउँछ,” उनले भने, “अब यस्ता अवस्था दोहोरिन नदिन कानुनी ढाँचामा स्पष्टता आवश्यक छ।”

व्यवहारिकताको स्वीकारोक्ति र सहकार्यको प्रस्ताव

भण्डारीले सामाजिक सञ्जालमा भइरहेको पत्रकारितालाई व्यवहारिक यथार्थ मानेर त्यसलाई कानुनी संरक्षण दिनुपर्ने स्पष्ट सन्देश दिएका छन्।

“अबको पत्रकारिता बहुआयामिक र प्रविधिनिर्भर छ। त्यसैले युट्युब र फेसबुकमा गरिने जिम्मेवार पत्रकारिता पनि मुख्यधारमै समावेश हुनुपर्छ,” उनले बताए।

अनलाइन टिभी पत्रकार संघ सँगसँगै उनले सम्बन्धित निकाय, पत्रकार महासङ्घ, सञ्चार मन्त्रालय, सूचना प्रविधि प्राधिकरण लगायत सरोकारवालाहरूलाई संवाद र सहकार्यका लागि खुला आह्वान गरेका छन्।

“हामीसँग व्यवहारिक उपाय छन्, सहकार्य गर्न सधैं तत्पर छौं,” अध्यक्ष भण्डारीको भनाइ छ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja