डिजिटल युगसँगै पत्रकारिता पनि नयाँ मोडमा प्रवेश गरिरहेको बेला इन्टरनेटमा आधारित भिडियो पत्रकारिताका लागि स्थापित अनलाइन टिभी पत्रकार सङ्घ कोशी प्रदेशमा औपचारिक रूपमा संस्थागत संरचनाको सुरुवात भएको छ।
मोरङको उर्लाबारीमा सम्पन्न प्रथम ऐतिहासिक अधिवेशनले मोरङका सक्रिय सञ्चारकर्मी किशोर कुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गर्दै कोशी प्रदेशको पत्रकारितामा नयाँ ऊर्जा थपेको छ।
निर्वाचित पदाधिकारीहरू:
- अध्यक्ष: किशोर कुमार श्रेष्ठ (मोरङ)
- उपाध्यक्ष: खगेन्द्र घिमिरे (झापा)
- सचिव: सरोज बस्नेत (मोरङ)
- सहसचिव: विनोद राना मगर (सुनसरी)
- कोषाध्यक्ष: सम्झना राई (मोरङ)
- सदस्यहरू: किशोर निरौला, विजय भट्टराई, अफ्ताब अली, निशान ढकाल
२०७६ सालमा काठमाडौंमा जीवन भण्डारीको नेतृत्वमा स्थापना भएको यो सङ्घले इन्टरनेटमा काम गरिरहेका पत्रकारहरूलाई एउटै छातामुनि ल्याउने प्रयास गरिरहेको छ। अब कोशी प्रदेशमा गठन भएको कार्यसमितिले स्थानीय तहमा डिजिटल पत्रकारिताको सशक्तिकरणमा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ।
सङ्घका वरिष्ठ उपाध्यक्ष सञ्जीव रेग्मीका अनुसार, १५ जिल्लामा शाखा विस्तार भइसकेको छ र प्रदेश स्तरका अधिवेशनहरू क्रमशः सम्पन्न हुँदैछन्। आगामी केन्द्रीय अधिवेशनपछि राष्ट्रियस्तरमा अझ व्यापक संगठन विस्तार गरिने योजना रहेको उनले बताए।
सङ्घले नेपालको इतिहासमै पहिलोपटक अनलाइन टिभी स्वनियमन निर्देशिका जारी गर्दै संयमित, मर्यादित र व्यावसायिक डिजिटल पत्रकारिताको जग बसाल्ने काम गरेको छ। साथै, अनलाइन टिभीकर्मीहरूलाई आवश्यक प्रशिक्षण र कानुनी मार्गदर्शन दिइरहेको छ। संघको केन्द्रिय सदस्य इशान्त कुमार खतिवडाको पहलमा उक्त कोशी प्रदेश समिति गठन भएको जनाइएको छ।
नयाँ समितिको गठनसँगै कोशीमा डिजिटल पत्रकारिताको नवीन अध्याय सुरु भएको छ — जहाँ प्रविधि र पत्रकारिता हातेमालो गर्दै अघि बढ्नेछन्।


















प्रतिक्रिया दिनुहोस्