निर्वाचन आयोगको कार्यविधिविरुद्ध १२ दलको संयुक्त विरोध

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 6, 2025 06-Aug-2025, Wed
1 Min Read
Aa
12 dal baithak

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बुधबार सिंहदरबारमा बसेको बैठकले निर्वाचन आयोगद्वारा प्रस्तावित ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’लाई असंवैधानिक ठहर गर्दै संयुक्त विरोध गर्ने निर्णय गरेको छ।

नेपाली कांग्रेस र नेकपा (एमाले) बाहेकका १२ दलहरूको सहभागिता रहेको उक्त बैठकमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जनमत लगायतका नेताहरू उपस्थित थिए।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले आयोगको कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐनविपरीत रहेको जिकिर गरे। उनका अनुसार आयोगले कानुन बनाउने अधिकार नहुँदा–नहुँदै ऐनकै ढाँचामा दलहरूलाई नियन्त्रण गर्ने गरी कार्यविधि ल्याएको हो।

रास्वपाका सांसद गणेश पराजुलीले पनि कार्यविधिलाई साना दलहरूलाई निष्क्रिय पार्ने उद्देश्यले बनाइएको आरोप लगाए। ‘निर्वाचन आयोग दलभित्रको पनि नियन्त्रण गर्न खोज्दैछ,’ उनले भने, ‘यो अस्वीकार्य छ।’

बैठकमा सहभागी दलहरूले संयुक्त रूपमा लिखित विरोध वक्तव्य जारी गर्ने तयारी गरिरहेका छन्।

निर्वाचन आयोगले कार्यविधिमाथि आगामी साउन २२ गतेभित्र सुझाव दिन आग्रह गरेको छ। यद्यपि, अहिलेको विरोधले कार्यविधिको वैधानिकता र व्यवहारिकतामाथि गम्भीर प्रश्न उठाएको छ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja