काठमाडौं उपत्यकासहित देशभर आज भाद्र कृष्ण औँसी अर्थात् बाबुको मुख हेर्ने दिन विशेष श्रद्धा र आस्थाका साथ मनाइएको छ।
जीवित पितालाई सम्मानस्वरूप मिठाई, भोजन खुवाएर सन्तानहरूले कृतज्ञता प्रकट गरेका छन् भने दिवङ्गत पिताको सम्झनामा गोकर्णेश्वर महादेव मन्दिरसहित विभिन्न तीर्थस्थलमा तर्पण, पिण्डदान र सिदादान गरिएको छ।
काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। सत्ययुगमा ब्रह्माले स्थापना गरेको मानिने यस स्थलमा पितृकार्य गर्दा २१ पुस्तासम्मका पितृहरू तारिने धार्मिक विश्वास छ। मेलालाई सहज बनाउन सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरिएको व्यवस्थापन समितिले जनाएको छ।
यसै अवसरमा आज कुशे औँसी पर्व पनि मनाइँदैछ। वैदिक परम्परा अनुसार ब्राह्मणमार्फत शास्त्रोक्त विधिअनुसार उखेलेर ल्याइएको पवित्र कुश घरघरमा भित्र्याइएको छ। धार्मिक मान्यताअनुसार आज उखेलिएको कुश वर्षभर देवकार्य र पितृकार्यमा प्रयोग गर्न सकिन्छ।


















प्रतिक्रिया दिनुहोस्