नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीको आज मुम्बईमा दुईवटा शल्यक्रिया हुने भएको छ । उनलाई उपचारका लागि हिजो भारत लगिएको थियो ।
स्रोतका अनुसार डा भण्डारीलाई मुम्बईको नेशनल बर्न्स सेन्टरमा भर्ना गरिएको छ । सांसद भण्डारीको उपचारमा संलग्न चिकित्सकका अनुसार उनको शरीरमा तरल पदार्थ दोब्बर बनाउने प्रयास भइरहेको छ ।
भण्डारीको बिहान १०ः३० बजे पहिलो र आज दिउँसो १ः३० बजे दोस्रो शल्यक्रिया हुने भएको छ । डाक्टरहरुले भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएपनि एन्टिबायोटिक लगाएर ४८ घण्टा भेन्टिलेटरमा राख्ने निर्णय गरेका छन् ।
बुधबार साँझ शंखमुलस्थित उनको निवासमा खाना पकाउने ग्यास सिलिण्डर विष्फोट हुँदा डा चन्द्र भण्डारी र उनकी आमा गम्भीर घाइते भएका छन् । दुवैलाई हिजो कीर्तिपुर बर्न अस्पताल लगिएकोमा भण्डारीकी आमा हरिकला भण्डारीको उपचारको क्रममा हिजो बिहान १० बजेर ५७ मिनेटमा निधन भएको हो ।
यसअघि कीर्तिपुर अस्पतालले नेपालमा थप उपचार सम्भव नभएकाले दुवैलाई देशबाहिरको अत्याधुनिक अस्पतालमा लैजान सिफारिस गरेको थियो । विष्फोटका कारण चन्द्र भण्डारीको शरीरको २५–३० प्रतिशत र ८६ वर्षीया आमा हरिकला भण्डारीको शरिरको ७० प्रतिशत भाग जलेको बताइएको छ ।


















प्रतिक्रिया दिनुहोस्