काठमाडौं, बैशाख २९ — हालै सार्वजनिक भएको कमेडी कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पिएन्स ’ को एपिसोड ७ को ट्रेलरमा प्रयोग गरिएका पत्रकारविरोधी अभिव्यक्तिप्रति अनलाइन टिभी पत्रकार संघले गम्भीर आपत्ति जनाएको छ।
कार्यक्रमका प्रस्तोता कैलाश कार्कीले ट्रेलरमा पत्रकारहरूलाई अपमानजनक शब्द प्रयोग गर्दै, आफूअनुकूल प्रश्न गर्नेहरूलाई “चप्पलले मुखमा हान्नुपर्ने” भन्ने अभिव्यक्ति दिएका थिए। यसले सम्पूर्ण पत्रकार समुदायको गरिमा र प्रेस स्वतन्त्रतामाथि आँच पुर्याएको भन्दै संघले आपत्ति जनाएको हो।
अनलाइन टिभी पत्रकार संघका महासचिव पवन फुयालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, यस्तो अभिव्यक्ति केवल व्यक्तिगत विचार नभई डिजिटल पत्रकारिता र पत्रकारहरूप्रति घृणाको भावना फैलाउने खालको रहेको छ। विज्ञप्तिमा कार्यक्रमका आयोजक र सरोकारवाला पक्षहरूलाई ट्रेलरबाट आपत्तिजनक अंश हटाउन स्पष्ट माग गरिएको छ।
संघले चेतावनी दिँदै भनेको छ, “यदि सो अभिव्यक्ति यथावत् राखिएमा संघ कानुनी प्रतिवाद गर्न बाध्य हुनेछ।” साथै, यस्ता घटनाले प्रेसमाथि भइरहेका निरन्तर आक्रमणलाई गम्भीर रूपमा लिनुपर्ने आवश्यकता रहेको पनि औँल्याइएको छ।
पत्रकार संघले अभिव्यक्ति स्वतन्त्रताको नाममा प्रेस र पत्रकारहरूको अवमूल्यन हुने अभिव्यक्तिहरूले जनविश्वासमा नकारात्मक असर पार्ने भन्दै त्यसप्रति सचेत रहन सबैलाई आग्रह गरेको छ।


















प्रतिक्रिया दिनुहोस्