६४ जिल्लामा पुग्याे मतपत्र, चुनावी प्रचारमा पाेस्टर र ब्यानर प्रयाेग नगर्न आग्रह

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 3, 2022 03-May-2022, Tue
2 Min Read
Aa

काठमाण्डाै – वैशाख ३० गते हुने पालिका चुनावका लागि ६४ जिल्लामा मतपत्र ढुवानी भएको छ । अहिलेसम्म एक करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी भएको निर्वाचन आयोगले जनाएको छ ।

मधेस प्रदेशका जिल्ला र बाग्मती प्रदेशका केही जिल्लामा मतपत्र ढुवानी गर्न बाँकी रहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । काठमाण्डौबाट एकै दिनमा ढुवानी गर्न सकिने बाँकी १३ जिल्ला र ६ वटा महानगर काठमाण्डौ, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज र विराटनगरमा पनि छिट्टै मतपत्र पुग्ने उहाँले बताउनुभयो ।

मनाङ र मुस्ताङमा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगले यही वैशाख १३ गतेदेखि मतपत्र ढुवानी सुरु गरेको थियो । पालिका चुनावको मुख्य दिन आउन अब १० दिन मात्रै बाँकी छ ।

पोस्टर, भित्ते लेखन, तुल, ब्यानर प्रयोग नगर्न आग्रह

आयोगले पालिका चुनावका क्रममा पोस्टर, भित्ते लेखन, तुल, ब्यानरलाई प्रयोग नगर्न आग्रह गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन आयोगले गएकाे चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता २०७८ लागू गरिसकेको छ ।

आचारसंहिताअनुसार सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक ठाउँमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिह्न राख्न वा टाँस्न नहुने उल्लेख छ । यस्तै कुनै पनि उम्मेदवारले आफ्नाे कार्यालयबाहेकका ठाउँमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिह्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्य/दृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने प्रावधान रहेको छ ।

दल वा उम्मेदवारको चुनाव चिह्न वा दलको झण्डाको तोरण बनाइ सार्वजनिक प्रदर्शन गर्न वा गराउन नहुने, कुनै किसिमको भित्ते लेखन गर्न वा गराउन नहुने व्यवस्था विपरीत कतिपय ठाउँमा कानुनले वर्जित गरेका यस्ता कार्य भइरहेको आयोगको भनाइ छ ।साभार उज्यालो अनलाईन

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja