नेपाल–कोरिया हवाई उडान सञ्चालनमा ल्याउन माग

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 17, 2022 17-May-2022, Tue
2 Min Read
Aa

काठमाडौं । कोरियामा कार्यरत नेपालीहरूले नेपाल–कोरिया नियमित हवाई उडान सञ्चालन गर्न माग गरेका छन् । विगतमा नियमित उडान हुने गरेकोमा कोभिड–१९ का कारण नियमित उडान सेवा बन्द भएको थियो । त्यसयता लामो समयदेखि नेपाल–कोरिया/कोरिया–नेपाल उडान हुन सकेको छैन ।

कोरियामा रहेका विभिन्न राजनीतिक दलसम्बद्ध संघसंस्थाहरूले नेपाली राजदूतावासमार्फत् नेपाल सरकारलाई ध्यानाकर्षणपत्र बुझाउँदै नियमित हवाई सेवा सञ्चालनको व्यवस्था गरिदिन माग गरेका हुन् ।

कोरियास्थित नेपाली कांग्रेस जनसम्पर्क समिति, नेकपा एमाले प्रवासी मञ्च, नेकपा माओवादी केन्द्र जनप्रगतिशील मञ्च, एकीकृत समाजवादी प्रवासी एकता मञ्च, जसपा नेपाल निकट नेपाली समाज र राप्रपा प्रवासी नेपाली समाजले संयुक्तरुपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै कोरियामा रहेका ६० हजार नेपालीको सेवालाई ध्यानमा राखेर उडान नियमित गर्ने प्रबन्ध गरिदिन माग गरेका हुन् ।

हाल नेपाल–कोरिया महँगो शुल्कमा चार्टर फ्लाइटमात्रै भइरहेको छ । ‘कोभिडका कारण बन्द भएको नियमित उडान खुलाइएको छैन, महँगो शुल्क तिरेर चार्टर फ्लाइट गए मात्रै हो । नत्र अत्यावश्यक पर्दासमेत स्वदेश आवतजावत गर्न पाइएको छैन,’ कोरियामा कार्यरत रामप्रसाद उप्रेतीले भने, ‘नेपालमा स्थानीय चुनाव छ, तत्कालै नियमित उडान भए कम्तीमा हामी स्वदेश फर्किएर मतदानमा सहभागी हुन पाउने थियौं ।’

त्यहाँ कार्यरत नेपालीहरूले केही निश्चित स्वार्थ समूहको कारण महँगो भाडादरको चार्टर उडानलाई प्रोत्साहन पुग्ने गरी नियमित उडान नखुलाइएको आरोप लगाएका छन् । ‘अन्य मुलुकमा सहज उडान भइरहेको छ । यस्तोमा कोरियामै मात्रै उडान नहुनुपर्ने कारण केही पनि छैन’ उप्रेतीले भने ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja