राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)का अध्यक्ष रवि लामिछानेलाई सांसद पदको सपथ लिन नपाउने गरी अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
स्रोतले बताए अनुसार प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले लामिछानेको नागरिकतामाथि प्रश्न उठाएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
जानकारी अनुसार अधिवक्ता युवराज बसौला र अधिवक्ता युवराज भट्टराईले अदालतबाट नागरिकताको मुद्दा टुंगो नलागेसम्म लामिछानेको सांसद पदको सपथ रोक्न माग गर्दै छुट्टाछुट्टै रिट दायर गरेका थिए ।
स्रोतका अनुसार उनीहरुले अन्तरिम आदेशको माग गर्दै लामिछानेको सांसद पद खारेज गर्नुपर्ने तर्क समेत गरेका छन् । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले बिहीबार पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ ।
उनीहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जंगबहादुर राणा तथा प्रतिनिधिसभाका वरिष्ठ सदस्यले सपथ खुवाउने कार्यक्रम छ । राणाले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिने भएका छन् ।


















प्रतिक्रिया दिनुहोस्