गृहमन्त्री लामिछानेले नेकपा एमालेकी सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिए

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 12, 2023 12-Jan-2023, Thu
1 Min Read
Aa
रबि लामिछाने

गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेकी सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न आफूले प्रहरीलाई निर्देशन दिएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबार आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लामिछानेले २०७२ सालको मधेस आन्दोलनका क्रममा प्रहरी हवल्दारको हत्या गरेको आरोप लागेका सांसद महतोलाई पक्राउ गर्न आफूले प्रहरीलाई निर्देशन दिएको बताए ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदा सांसद महतो उपस्थित थिए । महतोले प्रधानमन्त्रीको पक्षमा मतदान गरेका थिए ।

बुधबार पत्रकारले गृहमन्त्री लामिछानेलाई संसदमा उपस्थित भैरहेका फरार व्यक्तिलाई किन पक्राउ गर्न नसकेको प्रश्न गरेका थिए । जवाफमा उनले भने, ‘मैले बुझिनँ, पछि मिडियाबाट थाहा पाएपछि आईजीपीलाई फोन गरेर महतोलाई पक्राउ गर्न निर्देशन दिएँ ।

मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका सहायक निरीक्षक थमन विकको हत्यामा सांसद महतोको संलग्नता रहेको आरोप छ ।

स्रोतका अनुसार आन्दोलनकारीसँगको झडपमा गम्भीर घाइते भएका विकलाई एम्बुलेन्समा अस्पताल लैजाने क्रममा महतोसहितको भीडले एम्बुलेन्सबाट घिसारेर हत्या गरेको थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja