चीनको हाङ्जाओमा जारी १९औँ एसियाली खेलकुदमा नेपाल अन्ततः पदक जित्न सफल भएको छ । महिला कबड्डीमा नेपालले कास्य पदक जितेको छ ।
महिला कबड्डीमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएपछि कास्य पदकमा सीमित रह्यो । भारतले नेपाललाई ६१–१७ अंकले पराजित गरेको थियो । नेपाल समूह ‘बी’ अन्तर्गत फस्ट रनरअपका रूपमा सेमिफाइनलमा प्रवेश गरेको थियो । त्यस्तै भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
कबड्डीमा सेमिफाइनल खेल्ने चारै टोली पदकको हकदार छन् । महिला कबड्डीअन्तर्गत एसियाली खेलकुदमा नेपाल पहिलो पटक सहभागी भएको हो । समूह ‘बी’ मा इरान र बंगलादेश छन् । समूह ‘बी’ को विजेता बनेर इरान सेमिफाइनलमा प्रवेश गरेको थियो ।
अहिले समूह ‘ए’ को फस्ट रनरअप चाइनिज ताइपेसँग खेल्दैछ । नेपाली टोलीमा मेनुका कुमारी राजवंशी (कप्तान), मन्मति विष्ट, जयन्ती बडू, सुनिता थापा, रविना चौधरी, अनुजा कुलुङ राई, गंगा राई, नितु गुरुङ, ईशा राई, अर्पना चौधरी, सिर्जना थारु र कलावती पन्त रहेका छन् । टोलीका प्रशिक्षक विष्णुदत्त भट्ट हुन् ।


















प्रतिक्रिया दिनुहोस्