काठमाडौं, २ जेठ — मानसिक स्वास्थ्य समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएपछि सरकार यसतर्फ सक्रिय देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानसिक स्वास्थ्य सेवा प्रभावकारी बनाउन आवश्यक जनशक्ति थप्ने तयारी थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयमा आयोजित एक बैठकमा बोल्दै मानसिक स्वास्थ्यलाई वर्तमान समयमा एक गम्भीर चुनौतीको रूपमा लिइएको उल्लेख गर्दै यस समस्या समाधानका लागि सबै सरोकारवाला निकायसँग सहकार्य गरिने बताए।
“मानसिक रोगीको संख्या बढ्दै गएको छ। अब हामीले यो समस्यालाई बहुआयामिक रूपमा सम्बोधन गर्नुपर्छ,” मन्त्री पौडेलले भने, “यसका लागि सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय संस्थाबीच दोहोरोपन हटाएर सहकार्यका माध्यमबाट प्रभावकारी सेवा प्रवाह गर्नुपर्नेछ।”
मन्त्रालयले मानसिक स्वास्थ्यसम्बन्धी जनशक्ति वृद्धि गर्ने, सेवा विस्तार गर्ने र नीतिगत रूपमा ठोस कार्यक्रम ल्याउने तयारी गरिरहेको छ। साथै, शिक्षा मन्त्रालयसँगको सहकार्यमा विद्यालय पाठ्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी विषय समावेश गर्ने योजना पनि अघि बढाइएको छ।
“विद्यालय स्तरमै मनोसामाजिक परामर्श र मानसिक स्वास्थ्यबारे जानकारी दिने कार्यक्रम ल्याइँदैछ,” मन्त्री पौडेलले भने, “यसका लागि विद्यालय स्वास्थ्य द्रुत कार्यक्रमअन्तर्गत बालबालिकालाई लक्षित गर्दै सजगता अभिवृद्धि गरिनेछ।”
उनले संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच सहकार्य गरेर मात्रै यो चुनौतीलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सकिने बताए। साथै, निजी विद्यालयहरूमा समेत ‘विद्यालय नर्स कार्यक्रम’ लागू गर्ने विषयमा शिक्षा मन्त्रालयसँग सहकार्य भइरहेको जानकारी दिए।
सरकारको यो नयाँ प्रयासले मानसिक स्वास्थ्यप्रति जनचेतना बढाउने र सेवाको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।


















प्रतिक्रिया दिनुहोस्