हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकामा पहिलोपटक साइकल तथा घोडा र्याली सम्पन्न भएको छ। ‘घरपझोङको समृद्धि, कृषि, पर्यटन र संस्कृति’ भन्ने नारासहित आयोजित यस र्यालीले धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा नयाँ उत्साह भरेको छ।
नेपालका विभिन्न जिल्लाबाट करिब ४ सय साइकल यात्री र २० वटा घोडाहरूको सहभागितामा सम्पन्न र्याली सोमबार सोमसोम बजारस्थित कबड्डी हलको खेलमैदानबाट सुरु भई ठिनी, ढुम्बा ताल, छैरो, चिमाङ, मार्फा, स्याङ गाउँ हुँदै गाउँपालिकाको कार्यालयमा पुगेर सम्पन्न भएको थियो।
र्यालीको क्रममा सहभागीहरूलाई विभिन्न धार्मिक र सांस्कृतिक स्थलहरूमा स्वागत गरिएको थियो। गाउँपालिकाले उनीहरूलाई मायाको चिनो र सम्मानपत्र प्रदान गर्दै सम्मानित पनि गर्यो।
स्थानीय नेतृत्वको सकारात्मक सन्देश
गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले र्यालीको समापन कार्यक्रममा बोल्दै भने, “मुस्ताङको पर्यटन प्रवर्द्धनका लागि यो र्याली ऐतिहासिक छ। यो हाम्रो सामूहिक प्रयासको सकारात्मक नतिजा हो।”
उनले भविष्यमा अझै व्यापक रूपमा र्याली आयोजना गरिने र गाउँपालिकाको पहिचानलाई देश-विदेशसम्म पुर्याउने प्रतिबद्धता जनाए।
समापन कार्यक्रममा प्रदेशसभा सदस्य, प्रमुख जिल्ला अधिकारी, जोमसोमका सरकारी कार्यालय प्रमुखहरू, स्थानीय बासिन्दा र सहभागीहरू उल्लेखनीय उपस्थितिमा थिए।
पर्यटनमैत्री सन्देश
यस र्यालीमार्फत घरपझोङ गाउँपालिकाले मुस्ताङको धार्मिक, प्राकृतिक र सांस्कृतिक महत्वलाई उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्य लिएको छ। हिमाली भूगोलमा यस किसिमको पहलले दीर्घकालीन रुपमा पर्यटन विकासमा टेवा पुर्याउने स्थानीयको विश्वास छ।


















प्रतिक्रिया दिनुहोस्