नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा भारतले सकारात्मक प्रतिक्रिया दिएको छ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको रूपमा पदभार सम्हालेपछि भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै समर्थन व्यक्त गरेको हो।
विज्ञप्तिमा भनिएको छ, “हामी सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारको स्वागत गर्दछौँ। यसले नेपालमा शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्नेमा हामी आशावादी छौँ।”
भारतले नेपाललाई नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा व्याख्या गर्दै दुई देश र जनताबीचको सम्बन्ध अझ प्रगाढ बनाउन निरन्तर सहकार्य गर्ने स्पष्ट संकेत दिएको छ। विदेश मन्त्रालयले विशेषगरी राजनीतिक स्थिरता र शान्ति प्रक्रियामा प्रगति हुनु नेपाल मात्र नभई सम्पूर्ण क्षेत्रको लागि महत्त्वपूर्ण हुने टिप्पणी गरेको छ।
नेपालमा लामो समयदेखि राजनीतिक अनिश्चितता र सत्ता संघर्षका कारण स्थिर सरकार गठनमा कठिनाइ आइरहेको अवस्थामा अन्तरिम सरकार बनेको हो। पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वलाई राजनीतिक दलहरूबीच सहमतिको परिणामका रूपमा हेरिएको छ। विश्लेषकहरूले भारतको स्वागत वक्तव्यलाई दुई देशबीचको कूटनीतिक सम्बन्धमा नयाँ सन्देशको रूपमा लिएका छन्।
राजनीतिक विश्लेषकहरू भन्छन्— भारतको तत्काल स्वागतले नेपालप्रति उसको रणनीतिक चासो प्रस्ट हुन्छ। भारतले सधैंजसो नेपालमा हुने राजनीतिक परिवर्तनलाई ध्यानपूर्वक नियाल्ने गरेको छ। यसपटक पनि अन्तरिम सरकार गठनलाई समर्थन जनाउनु भारतको “स्थिर र लोकतान्त्रिक नेपाल” चाहने अभिप्रायको प्रतिबिम्ब हो।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई भारतले दिएको समर्थनले नेपाल–भारत सम्बन्धमा सकारात्मक सन्देश पठाएको छ। अब अन्तरिम सरकारले स्थिरता, लोकतान्त्रिक अभ्यास र विकासलाई कसरी अगाडि बढाउँछ भन्ने कुरा मुख्य चुनौतीका रूपमा रहेको छ।


















प्रतिक्रिया दिनुहोस्