लामो समयपछि इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल सञ्चालनमा आउने भएको छ ।
नेपाल वायु सेवा निगमले विमानस्थलबाट हप्तामा एक उडान गर्ने योजना बनाएको छ । इलाम नगरपालिकाका अनुसार निगमले विमानस्थलबाट उडान सञ्चालन गर्न सैद्धान्तिक सहमति दिएको छ ।
इलामका मेयर केदार थापाले पुस १५ गतेदेखि नियमित उडान सुरु गर्ने प्रयास भइरहेको जानकारी दिएका छन् । यसअघि पनि तारा एयरले विमानस्थलमा उडान भर्दै आएको थियो तर सम्झौता अवधि सकिएपछि सेवा बन्द भएको थियो ।
तारा एयरले सेवा बन्द गरेपछि विमानस्थलमा कुनै पनि उडान हुन सकेको छैन । इलाम नगरपालिकाले सम्भव भएसम्म सस्तो मूल्यमा हवाई सेवा सुचारु गर्न पहल गरेको जनाएको छ ।
मेयर थापाले उपयुक्त हवाई भाडा निर्धारण गर्न निगम पनि लाग्ने विश्वास व्यक्त गरेका छन् । तारा एयरका अनुसार काठमाडौंबाट इलामको उडान करिब एक घण्टाको छ ।
विमानस्थलमा ६७० मिटर लामो र २० मिटर चौडाइको धावनमार्ग छ। धावनमार्ग पनि कालोपत्र भइसकेको छ । विमानस्थलको सिमाना र टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।
विमानस्थल सञ्चालनमा आएपछि पाँचथर, तेह्रथुम र ताप्लेजुङ जिल्लाका यात्रुले पनि हवाई सेवाबाट लाभान्वित हुनेछन् ।


















प्रतिक्रिया दिनुहोस्