मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वको असर काठमाडौँ उपत्यकामा पनि देखिन थालेको छ। पछिल्ला केही दिनयता बजारमा खाना पकाउने ग्यासको अभाव हुन थालेपछि सर्वसाधारणले कठिनाइ भोगिरहेका छन्।
ग्यास अभावका कारण उपभोक्ताहरू ग्यास लिनका लागि बालाजु औद्योगिक क्षेत्र स्थित नेपाल ग्यास वितरण केन्द्रमा बिहानैदेखि लाइनमा बस्न बाध्य भएका छन्। हातमा सिलिन्डर बोकेर ग्यासको पर्खाइमा बसेका उपभोक्ताहरूको भीड त्यहाँ देख्न सकिन्छ।
उपभोक्ताहरूका अनुसार केही दिनदेखि बजारमा ग्यास सजिलै नपाइने अवस्था छ। त्यसैले ग्यास पाइने आशामा बिहानैदेखि वितरण केन्द्र पुगेर लाइन बस्नुपरेको उनीहरूको गुनासो छ। ग्यास अभावका कारण घरायसी कामकाज प्रभावित भएको पनि उपभोक्ताहरू बताउँछन्।
सम्बन्धित निकायले भने आपूर्ति व्यवस्थापनका लागि पहल भइरहेको जनाएको छ। तर हालसम्म बजारमा ग्यासको आपूर्ति सहज हुन सकेको छैन, जसका कारण उपभोक्ताहरूले सास्ती भोग्नुपरेको छ।



















प्रतिक्रिया दिनुहोस्