खानी तथा भूगर्भ विभाग ले दैलेखमा पेट्रोलियमको व्यावसायिक उत्खनन अघि बढाउन दोस्रो चरणको सम्झौताका लागि आन्तरिक तयारी थालेको छ। विभागले चीन सरकारको प्राविधिक सहयोगमा भइरहेको पेट्रोलियम अन्वेषण परियोजनालाई अब उत्पादन चरणमा लैजान आवश्यक समन्वय गरिरहेको जनाएको हो।
विभागका अनुसार दैलेख को भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा पहिलो चरणअन्तर्गत ड्रिलिङ तथा प्रारम्भिक अन्वेषण कार्य सम्पन्न भइसकेको छ। अब व्यावसायिक उत्खनन सुरु गर्न विभाग र China Geological Survey बीच थप सम्झौताको तयारी भइरहेको छ।
परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काका अनुसार चिनियाँ प्राविधिक टोलीसँगको सहकार्यमा सिस्मिक, जियोलोजिकल, म्याग्नेटो टेल्युरिक तथा जिओ–केमिकल स्याम्पलिङ सर्भे सम्पन्न गरिएको छ। परीक्षणका क्रममा प्राप्त नमूनाले पेट्रोलियम र प्राकृतिक ग्यासको सम्भावना देखाएको विभागले जनाएको छ।
विभागका अनुसार परियोजना सफल भए नेपालले पेट्रोलियम पदार्थ आयातमा खर्च हुने अर्बौं रुपैयाँ बचत गर्न सक्नेछ। साथै, यसले आयात प्रतिस्थापन, ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।



















प्रतिक्रिया दिनुहोस्