हार-जितले मानिसलाई जीवन जिउने कला सिकाउँछ

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 17, 2022 17-May-2022, Tue
5 Min Read
Aa

जब मान्छे कुनै प्रतिस्पर्धामा जान्छ ऊभित्र भएको सकारात्मक पक्षले उसलाई निर्देशित गरिरहेको हुन्छ । मनोवैज्ञानिक हिसाबले हेर्दा मैले जित्नुपर्छ, राम्रो गर्नुपर्छ भनेर सकारात्मक पक्षले उसलाई निर्देशित गर्छ । जसले गर्दा उसमा ‘इगो डिफेन्स’ पैदा हुन्छ ।

यसरी हेर्दा जसरी पनि जित्नुपर्छ भन्ने भावना आउनु स्वाभाविक हो । तर, जसरी नि जित्छु भनेर नराम्रो बाटो रोज्न थालियो, अहम् पालियो भने त्यसले स्वयं व्यक्तिलाई असर पनि गर्छ ।

यदि सोचेको कुरा पूरा हुन सकेन भने त्यसले शारीरिक र मानसिक अवस्थामा असन्तुलित व्यवहार र भावना देखिन सक्ने सम्भावना हुन्छ । यस किसिमको भावनाले मानसिक दबाव पनि पैदा गर्छ ।

मानसिक दबाव लामो समयसम्म रहिरह्यो भने उच्च रक्तचाप, एन्जाइटी र डिप्रेसनको समस्या पनि निम्तिन सक्छ । म्यानेजमेन्ट कन्सल्टेन्सी फर्म आरएचआर इन्टरनेशनलले ८३ वटा ठूला कम्पनीका प्रमुख कार्यकारीमा गरेको एक अनुसन्धान अनुसार हरेक कार्यकारी सबै कुरामा अगाडि रहने प्रतिस्पर्धा र अत्यधिक कामको भारले एन्जाइटीको सिकार भएका थिए ।

कुनै पनि कुरामा जित्न चाहनु मान्छेको स्वभाव हो । यो स्वभावमा मान्छेलाई असल बनाउने पक्ष नै धेरै हुन्छ ।

यदि तपाईं परीक्षा दिंदै हुनुहुन्छ भने परीक्षा तपाईंको लागि एक किसिमको तनाव हो । यो सकारात्मक तनाव हो । यसको लागि तपाईंले सकारात्मक तनाव लिएर ध्यान दिएर पढ्नुहुन्छ जसले नतिजा राम्रो आउँछ । यदि यस्तो तनाव भएन भने लक्ष्यमा पुग्ने अवस्थामा बाधा पुग्न सक्छ ।

जित्ने चक्करमा कतिपय मान्छेले जस्तोसुकै विधि वा हर्कत पनि गर्न छाड्दैनन्  । यो धेरै हदसम्म राजनीतिसँग मिल्न जान्छ । पहिलेदेखिकै एउटा भनाइ छ नि (साम, दाम, दण्ड, भेद) जसरी पनि त्यो पद आफूले हासिल गर्नैपर्छ  भन्ने मानसिकता । यो मानसिकता राजनीतिमा बढी हावी भएको देखिन्छ ।  ‘टप डगः द साइन्स अफ विनिङ एण्ड लुजिङ’ किताबकी लेखिका एस्ली मेरीम्यान भन्छिन्, ‘हार्नु सफलताको झुटो अनुभूतिभन्दा धेरै उत्कृष्ट हुन्छ ।’

यदि जित्नको लागि आफ्नो विचार, दृष्टिकोण र सकारात्मक सोच अगाडि लिएर अघि बढ्यो भने जित सुनिश्चित छ । त्यसैले राम्रो सोच लिएर जित्ने लक्ष्य लिनु उचित हुन्छ ।

जितिसकेपछि  धेरै व्यक्तिमा अहङ्कारको भावना हुँदैन । तर राजनीतिक हिसाबले हेर्दा सत्ता र शक्तिले भने मानिसलाई अहङ्कारी बनाउँछ । जो व्यक्तिहरूले अनावश्यक किसिमको दबाव तथा पैसाबाट जित हासिल गरेका छन् भने मात्र यो स्वभाव रहन्छ । मिहिनेतले जित हासिल गरेको व्यक्तिमा त्यो अहङ्कार देखिंदैन र सामान्य व्यक्तिहरूमा पनि त्यो दम्भ नदेखिन सक्छ ।

फेरि पनि जित्ने इच्छा गर्नु वा प्रयास गर्नु उचित विषय हो । एक पटक जितिसकेपछि फेरि जित्ने इच्छा नराख्ने व्यक्ति अगाडि बढ्न सक्दैन ।

मानिसको जीवनमा हार–जित भनेको भइरहने कुरा हो । जितमा धेरै नमात्तिनु र हारमा धेरै नआत्तिनु भन्ने हाम्रो पूर्वीय मान्यता छ त्यो मनोवैज्ञानिक हिसाबले हेर्दा एकदमै व्यावहारिक छ ।

एउटा व्यक्ति स्वस्थ रूपले प्रतिस्पर्धामा गएको छ भने उसलाई हारले फरक पार्दैन । हार भनेको सिकाइ हो । हारबाट मान्छेले धेरै कुरा सिक्न सक्छ । जब हामी असफल हुन्छौं त्यसबाट हामीले जिन्दगीको पाठ सिक्छौं । त्यसैले हारलाई सहज रूपले लिनु जरूरी हुन्छ ।

हार्ने अभ्यासले मान्छेमा आफूलाई कसरी मनोवैज्ञानिक रूपमा सन्तुलित राख्ने भन्ने कुरा सिक्छ । व्यक्तिमा धैर्य गर्ने बानीको पनि विकास हुन्छ । पटक-पटक प्रयास गर्ने बानीको विकास हुन्छ । त्यस्तो व्यक्ति विभिन्न अवस्था र परिस्थितिको सामना गर्न सक्षम हुँदै जान्छ । त्यसैले हार्नु जीवनको एउटा पाठ हो ।

असफलता नै सफलताको खुड्किलो

कुनै पनि सफलताबाट त्यस क्षण परम आनन्द प्राप्त हुन्छ, जब जित्नका लागि हामीले पटक–पटक प्रयास गरेका हुन्छौं । अर्थात् धेरै पटक असफल भएका हुन्छौं । असफलता यस्तो सिंढी हो, जसले जित्नका लागि खुड्किलो बनाइदिन्छ ।

हामी जति धेरै असफलता झेल्छौं, त्यसले सफलताको महत्व थप बढाइदिन्छ । त्यति मात्र होइन, हरेक परिस्थितिको सामना गर्ने क्षमताको विकास गराइदिन्छ ।

जित्ने महत्वाकांक्षा

जित्नु नराम्रो होइन । तर, बेलाबखत के हुन्छ भने जित्ने वा सफलता प्राप्त गर्ने दौडमा यसरी तल्लीन हुन्छौं कि, आफ्नो जीवन बाँच्न भुल्छौं । आफ्नो जीवन, साथी–संगत, घर–परिवार, नातागोता सबै भुल्छौं ।

जब हामी आफ्नो जीवनको लय भुलेर जित्नकै लागि तल्लीन रहन्छौं, त्यसले अन्ततः हामीलाई कष्ट दिन्छ । कतिपय क्षण हामीले अपेक्षा गरे जस्तै नतिजा आउँदैन । सानोतिनो अवरोध आउँछ । यसले हामीलाई तनाव र बेचैन बनाउँछ ।

जरूरी छ तनाव पनि

क्यानेडियन मनोवैज्ञानिक डाक्टर मान्डर भन्छन्, ‘तनावको अनुपस्थितिमा जीवन दिक्कलाग्दो हुनसक्छ । त्यसैले थोरै भए पनि तनाव हुनुपर्दछ ।’

जब समय प्रतिकूल हुन्छ, दक्ष भएर रोजगार पाइँदैन, रोजगार भएर पनि कामको दबाव धेरै हुन्छ, काम गरे पनि सफलता मिल्दैन वा व्यापारमा नोक्सानी हुन्छ । यस्तो समयमा तनाव स्वाभाविक हो । यस्तो तनावले सोच्नका लागि बाध्य बनाउँछ र परिस्थितिलाई आफू अनुकूल बनाउन सघाउँछ । त्यसैले हार्न पनि जरूरी छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja