‘कबड्डी ४’को देश दौडाहामा निस्किए दयाहाङ र मिरुना

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 17, 2022 17-May-2022, Tue
2 Min Read
Aa

काठमाडौं । स्थानीय चुनावको सरगर्मीबीच रिलिज तयारीमा रहेको फिल्म ‘कबड्डी ४’ले देश दौडाहा थालेको छ ।

सोमबार पूर्वी नेपालको दमकदेखि सुरु भएको प्रचार यात्रा इटहरी, चितवन, बुटवल, पोखरा हुँदै काठमाडौंसम्म आइपुग्ने भएको छ ।

चुनावको गर्मागर्मीबीच पनि दमकमा आयोजित कबड्डी कार्यक्रममा बाक्लो उपस्थिती रह्यो ।

‘हामीलाई चुनावको कारण दर्शक आउँदैनन् कि भन्ने डर थियो, त्यस्तो भएन’ निर्माता मणिराम पोखरेलले अनलाइनखबरसँग भने, ‘अन्य ठाउँमा पनि दर्शक आउने अपेक्षा गरेका छौं ।’

फिल्म जेठ १३ गते प्रदर्शन तयारीमा छ । रिलिज लगत्तै नेपालगञ्ज लगायतको पश्चिम नेपाल यात्रा सुरु हुनेछ । चुनावले फिल्मको प्रचारप्रसारलाई केही ओझेलमा पारेको देखिएपनि पुनः दर्शक हलसम्म आउनेमा निर्माता पोखरेल विश्वस्त सुनिए ।

कबड्डीको यो दौडाहामा कलाकारहरु दयाहाङ राई, विजय बराल, मिरुना मगर, बुद्धि तामाङ, लेखक उपेन्द्र सुब्बा र निर्माता पोखरेल सहभागि छन् । छायांकन भैरहेको फिल्म ‘के घर के डेरा’बाट समय मिलाएर दयाहाङ कबड्डी प्रचारमा निस्किएका हुन् ।

फिल्मको प्रचारमा साथ नदिएको भन्दै दयाहाङको आलोचना भएको थियो । तर, अर्का अभिनेता सौगात मल्ल चाहिँ प्रचारमा देखिएका छैनन् । कबड्डी ४ लाई लिएर दर्शकमाझ पर्खाइ छ ।

रामबाबु गुरुङ निर्देशित फिल्मका अघिल्ला तीनैवटा सिरिजले नेपाली बक्सअफिसमा राम्रो कमाइ गरेका छन् । कबड्डी ४ ले रिलिज अगावै विदेश र डिजिटल राइटमार्फत लगानी सुनिश्चित गरिसकेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja